
काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न १० दिने अल्टिमेटम दिएको छ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै पार्टीले जेनजी विद्रोहको भावना अनुरूप संविधान संशोधन, सरकार भङ्ग र नयाँ राजनीतिक व्यवस्था अघि बढाउन माग गरेको हो।
ज्ञापनपत्रमा २३–२४ गते भएका घटनाको निष्पक्ष छानबिन, संविधान पुनर्लेखन, समाजवादी सङ्घीय संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भूमि तथा भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय आयोग गठनलगायत माग समेटिएका छन्।
मागहरू १० दिनभित्र सम्बोधन नगरिए सडक सङ्घर्षमा जाने चेतावनी समेत दिइएको छ।


काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने÷नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ ।
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुईदिने अभिमुखीकरणको समापन सत्रलाई आज सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बताउनुभयो ।
उहाँले निर्वाचनको राजनीतिक मुद्दा राजनीतिक रुपमा हल हुने र आयोगले राजनीतिक तथा कानुनीरुपमा हल भएका विषयलाई शिरोपर गर्ने स्पष्ट गर्नुभयो ।
“आयोग जसरी पनि निर्वाचन गराउन तल्लीन छ । हामीसँग निर्वाचन गर्नेबाहेक अरु अठोट छैन । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थामा समयमा निर्वाचन नभए के हुने भन्ने पनि अन्योल पनि हुन्छ । त्यसकारण निर्वाचन गराउनु निर्विकल्प काम हो”, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “संविधानलाई नियमिततामा ल्याउन पनि निर्वाचन आवश्यक छ । म सबै दललाई निर्वाचनमा राम्रो उम्मेदवार छनोट गरेर मुलुकमा सुशासन कायम गराउने दायित्व निर्वाहमा लाग्न आग्रह गर्दछु ।”
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको बन्दसूची पेस गर्दा जात, भाषा, वर्ग र भूगोल सबैलाई प्रतिनिधित्व हुने गरी त्रुटिरहित रुपमा गर्न आग्रह गर्दै जारी हुने निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि पनि स्मरण गराउनुभयो ।
उहाँले दलहरुलाई निषेधको राजनीति नगरी सबैलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन प्रचारप्रसारको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचनमा गौँडो बाटो छेक्ने काम कसैले गर्नुहुँदैन । मतदाताबीच मीठो मसिनो रुपमा प्रस्तुत हुनुहोला । निर्वाचन आयोग त रेफ्री मात्रै हो, निर्वाचनका खेलाडी त राजनीतिक दलहरु नै हुन् ।”
आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सुगुनशमशेर जबरा तथा सचिव कृष्णबहादुर राउत, प्रवक्ता नारायणप्रसाद भट्टराईलगायत उपस्थित कार्यक्रममा मङ्गलबार र बुधबार गरी समानुपातिक प्रणालीतर्फ निर्वाचनमा भाग लिन निवेदन दिएका ९३ दलका दुई÷दुई प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
सहभागीलाई निर्धारित प्रतिशतमा समावेशिताका आधारमा उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र पद्धतिका सम्बन्धमा कानुन तथा तथ्याङ्कसम्बन्धी विज्ञले प्रशिक्षण दिनुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेपछि २०७८ सालको जनगणनाको प्रतिवेदनबमोजिमको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा दलहरुले बन्दसूचीको समावेशिता कायम गरी सूची पेस गर्नुपर्नेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्याका आधारमा उक्त प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएकाले आयोग सोको पूर्ण तयारीमा रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
सप्तरी । छिन्नमस्ता गाउँपालिका–४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय २४ किलो ६ सय ग्रामसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले बुधबार बिहान को.१ च ९६६५ नम्बरको पिकअप जाँच गर्ने क्रममा ३२ वटा पोकामा राखिएको गाँजा बरामद गरेको हो। उक्त पिकअप चालक राजविराज नगरपालिका–११ का २९ वर्षीय रामकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं । आफूलाई शाखा अधिकृत बताउँदै नक्कली कागजात प्रयोग गर्ने एक युवक पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–२२ झोछेमा बस्दै आएका ललितपुर महानगरपालिका–१५ थसिखेल घर भएका २३ वर्षीय समन श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी सरकारी कर्मचारीको पोशाकसमेत लगाई ओहदाको दुरुपयोग गर्न खोजेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको जनाएको छ।
श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल रू. चार हजार ४२० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
गत आइतबार छापावाल सुन प्रतितोला रु. दुई लाख ५८ हजार ३००मा र चाँदी रु. चार हजार १०५ मा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन रु. दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी रु. चार हजार २३५मा कारोबार भएको थियो । मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य रु. दुई लाख ६७ हजार २०० र चाँदी रु. चार हजार २५५ मा किनबेच भएको थियो ।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।





