
काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिलाको मृत्यु भएको हो। उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब १०ः३० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक एवं सामाजिक सुरक्षामन्त्री सीता बादीले सांसदहरूले उठाएका मन्त्रालयगत प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।
मन्त्रालयगत प्रश्नोत्तर, मनसुनजन्य विपद् व्यवस्थापनबारे छलफल तथा नयाँ विधेयक प्रस्तुत हुने कार्यसूचीका कारण आजको राष्ट्रियसभा बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।





