काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले काठमाडौँमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई तत्काल परिचालन गर्न सक्ने सङ्गठनात्मक आधार तयार गर्न जनसङ्गठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलवार आयोजित जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा सङ्गठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले सङ्कटका बेला कार्यकर्तासँग निरन्तर सम्पर्क कायम राख्नु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै हतारमा गरिने निर्णयले दुर्घटनातर्फ लैजान सक्ने भएकाले धैर्यता, एकता र विवेकपूर्ण निर्णय आवश्यक रहेको बताए।
उनले पार्टीभित्र समस्या छन् भन्दै निराशा फैलाउने प्रवृत्तिभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्ने धारणा राखे। साथै, पार्टीमाथिको जनविश्वास र जनतासँगको सम्बन्धको समग्र समीक्षा गर्दै त्यसलाई थप बलियो बनाउन नसके सङ्गठनात्मक चुनौतीहरू जटिल बन्न सक्ने चेतावनी दिए।









