काठमाडौँ — कम्बोडिया र थाइल्याण्डबीचको सशस्त्र तनाव तेस्रो दिन शनिबारसम्म पनि जारी छ । गत बिहीबारदेखि सुरु भएको द्वन्द्वमा हालसम्म ३२ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

थाइल्याण्डले हालसम्म १९ जना आफ्ना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ भने कम्बोडियाले १३ जनाको मृत्यु भएको जनाएको छ । द्वन्द्वका क्रममा दर्जनौं घाइते भएका छन् ।
तीव्ररूपमा फैलिँदै गएको तनावका कारण हालसम्म १ लाख ३० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार नयाँ सैन्य मोर्चा खुलेसँगै द्वन्द्वको क्षेत्र विस्तार हुँदै तटीय इलाकासम्म फैलिएको छ ।
थाई नौसेनाका अनुसार कम्बोडियासँग सीमा जोडिएको ट्राट प्रान्तमा नयाँ मोर्चा खुलेको हो, जुन अघिल्लो द्वन्द्व प्रभावित क्षेत्रभन्दा करिब १०० किलोमिटर टाढा पर्छ ।
गत मे महिनामा एक जना कम्बोडियाली सैनिकको ज्यान गएको घटनापछि सीमा क्षेत्रमा तनाव चुलिएको हो, जसले पछिल्लो सशस्त्र द्वन्द्वलाई जन्म दिएको बताइएको छ ।









