काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। माओवादी केन्द्रका सांसद वर्षमान पुनले बैठकमा बोल्दै गृहमन्त्रीमाथि मानव तस्करीसँग जोडिएको विषयमा गम्भीर प्रश्न उठाउँदै राजीनामाको माग गरे।

पुनले भने, “गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई मानव तस्करी प्रकरणमा मुख्य आरोपित हुन्, र गृहमन्त्री लेखकले उनीमाथि संरक्षण गरिरहेका छन्। यस्तो अवस्थामा गृहमन्त्रीले पदमा बसिरहनु नैतिकताविपरीत हो।”
सांसद पुनका अनुसार अनुसन्धान गर्ने निकाय पनि गृहमन्त्रीको मातहतमा पर्ने भएकाले निष्पक्ष छानबिनका लागि मन्त्रीले राजीनामा दिनु आवश्यक छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै भने, “भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको विवरण सञ्चारमाध्यमहरूले सार्वजनिक गरिरहेका छन्। यस्तो गम्भीर विषयमा मन्त्रीको नैतिक जिम्मेवारी स्पष्ट हुनुपर्छ।”
गृहमन्त्री लेखकमाथि विदेश पठाउने भिजिट भिसा सेटिङमा सचिवालयको संलग्नता भएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख रहेकै बेला विवादित भिजिट भिसा प्रकरणमा मुछिएका थिए।
अख्तियारले भट्टराईलाई सोधपुछ गरी साँझमा छोडे पनि प्रकरणले गम्भीर मोड लिएको छ। भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएपछि भोलिपल्टै अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो। यस सरुवालाई ‘प्रभाव पार्ने उद्देश्य’ भएको आशंकामा विपक्षी दलहरू आक्रोशित बनेका छन्।
प्रतिनिधिसभामा उठेको यो विषयले सरकार र गृहमन्त्रीमाथि थप दबाब सिर्जना गरेको छ।









