काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण करिब २३० मेगावाट क्षमताका जलविद्युत् आयोजना ठप्प भएका छन् । बाढीले रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित बनाएको छ ।

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ । सम्पूर्ण विद्युत् उत्पादन बन्द भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
त्यस्तै, ६० मेगावाटको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीका कारण प्रभावित भएका छन् । साथै, ती आयोजना संलग्न २३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।
प्रवन्ध निर्देशक शाक्यका अनुसार रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुल चर्किएको छ, जसका कारण आवतजावत पूर्णरूपमा बन्द भएको छ । तर, पावरहाउस भने सुरक्षित रहेको उनले जानकारी दिए ।
शाक्यका अनुसार, “अहिले त्रिशूली नदीमा रहेका सबै जलविद्युत् आयोजनाहरूको उत्पादन रोकिएको छ । देवीघाटस्थित त्रिशूली आयोजना र चिलिमे छिट्टै सञ्चालनमा आउन सक्ने देखिन्छ, तर रसुवागढी र त्रिशूली–३ ए लाई केही दिन लाग्नेछ ।”
त्रिशूली–३ ए को भवनमा बाढी पस्नुका साथै एउटा गेट पनि बगाएको छ । चिलिमे पावरहाउसमा टेलरेसबाट लेदो पसे पनि संरचनामा गम्भीर क्षति नभएको प्राधिकरणले जनाएको छ ।
बाढीको बहाव कम भएपछि मात्र हेडरेस गेटको क्षतिको मूल्यांकन र पुनः सञ्चालनको समय निर्धारण हुने शाक्यले स्पष्ट पारे ।









