काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

उनको शपथ आजै हुने स्रोतले जनाएको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा पुनले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रमा आफूले अघि सारेका सुधारका कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त सहयोग नपाएको भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
राजीनामापछि पुन प्रत्यक्ष राजनीतिमा सक्रिय हुँदै निर्वाचनमा सहभागी भएका थिए। उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
बालेन सरकारमा सहभागी हुने पुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाहेकका एक मात्र सांसद हुनेछन्। विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रका अभियन्ताका रूपमा परिचित पुनको मन्त्रिपरिषद् प्रवेशलाई सरकारको प्राविधिक तथा नवप्रवर्तनसम्बन्धी नीतिमा नयाँ ऊर्जा थप्ने कदमका रूपमा हेरिएको छ।









